भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन आयल कर्पोरेशन(आईओसी)ले लोडिङ सहज बनाउन निर्देशन दिइसकेको र आईओसीको रक्सौल डिपोले लोडिङ बढाउँदै लगेकोले ५ दिनभित्र पेट्रोलियम वितरण सहज बनाउन सकिने निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले बताए।कुल पेट्रोलियम पदार्थ खपतको करिब ७० प्रतिशत भार रक्सौल डिपोबाट वीरगन्जहुँदै आउने पट्रोलियम पदार्थले धानेकोले उक्त डिपोले लोडिङ सहज बनाउँदा र वीरगन्ज नाका सहज हुँदा आपूर्ति सहज हुने उनको भनाइ छ। तर, खाना पकाउने पेट्रोलियम ग्यास(एलपिजी)को आपूर्ति सहज हुन भने अझै एक देखि ढेढ महिना लाग्न सक्ने उनले बताए।
'रक्सौल डिपोले दैनिक २ हजार ५ सयदेखि ३ हजार किलोलिटर पेट्रोलियम लोडिङ गरिदिए अबको ५ दिनभित्रमा सबै पम्पबाट तेल वितरण गर्न सकिन्छ,' उनले भने, 'सोमबार रक्सौल डिपोले करिब ४ सय किलोलिटर मात्रै लोडिङ गरिदिएको थियो। लोडिङ बढाउन आईओसीको केन्द्रीय कार्यालय मुम्बइले सबै डिपोहरुलाई निर्देशन दिइसकेको पनि हामीलाई जानकारी गराएको छ।' भदौ ७ गतेदेखि लगातार करिब साढे ५ महिना बन्द रहेको वीरगन्ज नाकाभएर रक्सौल डिपोबाट तेल ओसार्ने ढुवानी ट्याङ्करहरुलाई विभिन्न रुटमा चलाइएकोले नाकाबन्दीअघि कै अवस्थामा रुट मिलाउन पनि केही समय लाग्ने उनले बताए। 'आईओसी मुम्बइको निर्देशनअनुसार नै तेल लोड भएर आए आपूर्ति व्यवस्था केही दिनमै सहज बनाउन सकिने उनको भनाइ छ।ग्यासको आपूर्ति व्यवस्था सहज बनाउन भने अझै एकदेखि डेढ महिनासम्म लाग्ने उनले बताए। 'ग्यासको आपूर्ति सहज हुन नेपालका लागि ग्यास लोड गर्ने भारतका तीन ओटै डिपोबाट कुल मिलाएर ५५ देखि ६० बुलेट ग्यास दैनिक नेपाल आउनु पर्छ,' उनले भने, 'तर मंगलबार ३ ओटा डिपोबाट कुल २३ ओटा बुलेट मात्र लोड नएको हामीले जनाकारी पाएका छौं।' नेपाल भित्रिने ग्यास आईओसीको बरौनी, हल्दिया र मथुरा डिपोबाट लोड भई आउने गरेको छ। सबैभन्दा बढी परिमाणमा बरौनी र हल्दिया डिपोको ग्यास वीरगन्ज नाकाबाट नेपाल आउने गरेको छ। मथुरा डिपोबाट आउने ग्यास पश्चिमी नाकाबाट भित्रिने गरेको छ।
'अब क्रमशः ग्यासको आपूर्ति सहज हुने भएकोले आम सर्वसाधारणले स्टक नगर्ने हो भने चाँडै नै बजारमा सहज देखिन्छ,' उनले भने, 'तर, पहिलाको जस्तै ग्यासको स्टक गर्ने क्रम उस्तै रहेमा माग घटेको वा आपूर्ति सहज भएको नदेखिन पनि सक्छ।'
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment