भिडियो सहित हेर्नुहोस !
Advertisement


पुस २४, २०७२- दुई वर्षअघि फेसबुकले एउटा योजना अघि सार्‍यो जसको नाम दिइएको थियो, इन्टरनेट डट ओआरजी । यसको उद्देश्य थियो– विकासोन्मुख मुलुकका जनतालाई नि:शुल्क इन्टरनेट पहुँच पुर्‍याउने । यही उद्देश्यअनुसार कम्पनीले डेढ दर्जन मुलुकमा आफ्नो अभियानको सुरुवात गरेको थियो । फेसबुकको योजनामा सामसुङ, इरिक्सन, मेडियाटेक, ओपेरा सफ्टवेयर, नोकिया, क्वालकमजस्ता चर्चित कम्पनीले साथ दिएका थिए ।

अभियानको उद्देश्यअनुसार विकासोन्मुख मुलुकका ग्रामीण भेगका स्मार्टफोन प्रयोगकर्तालाई केही निश्चित वेबसाइटको नि:शुल्क पहुँच दिइएको थियो । त्यस्ता, वेबसाइट जसले उनीहरूलाई स्वास्थ्य, शिक्षा, रोजगारीको अवसरबारे जानकारी दिन्छ । यसको लागि फेसबुकले हरेक देशका स्थानीय टेलिकम अपरेटर र कम्पनीसँग सहकार्य गरेको थियो ।

पहिला पनि गाइँगुइँ नचलेको होइन, फेसबुकले नेट न्युट्रालिटी (इन्टरनेट तटस्थता) को सिद्धान्त तोड्यो । तर, यस्ता चर्चाले त्यति तातो पाएको थिएन जति अघिल्लो हप्ता भयो । कम्पनीको ठूलो बजार भारतमा फेसबुकको यो अभियानमाथि प्रतिबन्ध लागेको छ । दुई हप्ता अघि भारतको टेलिकम प्राधिकरणले स्थानीय साझेदार कम्पनीलाई फेसबुकको फ्री बेसिक अभियान बन्द गर्न निर्देशन दिएको छ ।

नेट न्युट्रालिटीकै विवाद आएपछि केही महिनाअघि मात्रै कम्पनीले इन्टरनेट डट ओआरजीको नाम परिवर्तन गरी फ्री बेसिक्स नाम राखेको थियो । र, विवादबाट बच्न उसले फ्री बेसिक एप र वेबमा केही थप फिचर थपेको थियो, जुन फेसबुकले नभई अन्य डेभलपरले बनाएका थिए । जसबाट फेसबुकलाई भन्ने बाटो खुलेको थियो– यो हाम्रो मात्रै होइन, धेरैको अभियान हो ।

पछिल्लो समय फेसबुकका मालिक मार्क जुकरवर्गले हरेक कार्यक्रममा आफ्नो अभियानको महत्त्व दर्शाउन समय खर्चने गरेका थिए । उनले आफ्नो अभियानको उद्देश्य राखेका थिए– ग्रामीण भेगका जनतालाई इन्टरनेटको पहुँचमार्फत बाँकी विश्वसँग जोड्ने । विरोधीले फेसबुकको यो अभियानलाई व्यापारिक रणनीति भने पनि जुकरवर्गले यसलाई आफ्नो ‘स्वार्थविहीन सपना’ भनी व्याख्या गर्दै आएका थिए ।

र, भारत उसको ठूलो बजार थियो । बढ्दो साक्षरता दर र आम्दानीका कारण ठूलो जनसंख्या भएको देश भारतमा स्मार्टफोन प्रयोगकर्ता बढ्दै छन् र त्यसको सोझो अर्थ हो, फेसबुकको प्रयोगकर्ता पनि बढोत्तरी । त्यसैले होला, सेप्टेम्बरको अन्तिम साता फेसबुक हेडक्वार्टरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गरेका थिए । मार्क जुकरवर्ग अर्को महिना भारत भ्रमणमा आएका थिए ।

भारतमा प्रतिबन्ध लागेको एक साता नबित्दै फेसबुकको यो अभियान इजिप्टमा पनि बन्द गरिएको छ । फेसबुकले इजिप्टमा आफ्नो अभियान बन्द भए पनि किन बन्द भएको बारे सरकारी अधिकारीले जानकारी नदिएको बताउँदै आएको छ । भारतका ७० भन्दा बढी संस्थाले एकै पटक फेसबुक अभियानको विरोध जनाउँदै थिए । उनीहरूको तर्क थियो, ‘कुनै वेबसाइटलाई नि:शुल्क र कुनै सशुल्क गर्न पाइँदैन ।’

विरोधीहरूको तर्क छ, फेसबुकको अभियानले केही वेबसाइटलाई मात्रै ‘प्रमोट’ गर्‍यो, जुन फेसबुकले चाहन्छ । ग्रामीण भेगका जनताका लागि उपयोगी भनिएको वेबसाइटको छनोट पनि पारदर्शी नभएको उनीहरूको तर्क छ । उनीहरू के पनि भन्छन् भने फेसबुकले सेवा दिने भनेको ती व्यक्तिहरूलाई हो जो पहिल्यै स्मार्टफोन बोक्न सक्षम छन्, त्यसैले यो गरिबका लागि होइन । ‘एउटा देशमा कति प्रतिशतको हातमा स्मार्टफोन हुन्छ ? ग्रामीण भेगका कति प्रतिशतले स्मार्टफोन बोक्छन् ?’

उनीहरू प्रश्न गर्छन् र आफैं भन्छन्, ‘थोरैले बोक्छन् र यो फेसबुकको नि:शुल्क सेवा पनि थोरैको लागि मात्रै हो ।’ भारत र इजिप्टमा प्रतिबन्धसँगै फेसबुकको यो अभियानमा ठूलो प्रश्नचिह्न खडा भएको छ । के छानीछानी केही वेबसाइटलाई मात्रै नि:शुल्क गर्न मिल्छ ? यसका लागि जुकरवर्गको आफ्नोखाले जवाफ छ । उनले भन्दै आएका छन्, ‘सबै वेबसाइट नि:शुल्क गर्दा साह्रै महँगो पर्छ । त्यसैले काम लाग्ने वेबसाइट मात्रै नि:शुल्क दिएको ।’




भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top